Pages

Thursday, August 25, 2011

ताम्सालिङ नेपाल राष्ट्रिय दलद्वारा बन्द आह्वान

ताम्सालिङ नेपाल राष्ट्रिय दलले सात सूत्रीय मागसहित आगामी भदौ ११ गते उपत्यकासहित प्रस्तावित ताम्सालिङ क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी उसले विगतमा भएको सहमति तत्काल कार्यान्वयन गराउन उपत्यका र तामाङ बाहुल्य क्षेत्र बन्दको घोषणा गरेका हुन् ।ताम्सालिङले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र जाति भाषा र ऐतिहासिक थातथलोको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशलगायत समानुपाति र समावेसीलाई सुनिश्चित गरिएको अग्रगामी संविधान तोकिएको समयमै निर्माण गराउन जनदबाव सिर्जना गर्न बन्दको आव्हान गरिएको जनाएका छन् ।

ताम्सालिङ नेपाल राष्ट्रिय दलले भदौं १४ गतेभित्र अखण्डित ताम्सालिङ प्रदेशसहितको सङ्घीय गणतन्त्र नेपालको संविधान जारी गर्नुपर्ने, नेपाल सरकार र ताम्सालिङ संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन गरिनुपर्ने माग अघि सारेको छ ।

पक्का पनि ताम्सालिङ स्वायत्त गणतन्त्र निर्माण गर्नु आज सम्पूर्ण तामाङ जनताको जिम्मेवारी बन्न गएको छ । २४० वर्ष देखि जवर्जस्ती एक भाषा ,एक संस्कृति लादिएकोले अब त्यसको क्षेतिपूर्ति स्वरुप पनि हामीले ताम्सालिङ माग्नै पर्छ । हाम्रै आदिम जन्मथलोमा हामीलाई नै जबर्जस्ति दास बनाउने जुन कुचेष्टा हिजोको तानाशाही र त्यसको कठपुतलीहरुले गर्यो अब त्यसको बदला लिनु हाम्रो दायित्व हुन आएको छ । हामी ताम्सालिङ क्षेत्रका आदिम काल देखि बस्दै आएका आदिवासी जनजाति हौँ । हाम्रो आदिम भूमि हिजो जसरी खोसिएको थियो अब त्यो हामीले पाउनै पर्छ ।

ताम्सालिङ प्राप्तकालागि गरिने हरेक आन्दोलनमा हाम्रो समर्थन छ ।जुनसुकै दल जुनसुकै शक्तिले ताम्सालिङको नारा घन्काए पनि हामीले सहयोग गर्नै पर्ने बेला आएको छ ।खास गरी हामीले खोजेको तामाङ जनताको अग्राधिकार सहितको ताम्सालिङ प्राप्त गर्नको लागि देशको सबैभन्दा ठुलो शक्ति एकिकृत माओवादी हाम्रो पक्षमा उभिएको छ । एमालेभित्रका जनजाति नेताहरु हाम्रो पक्षमा रहे पनि अरु बाहुन नेताहरु हाम्रो पक्षमा नभएको कारणले उसबाट आशा गर्न सक्ने आधार देखिन्न ।त्यस्तै कांग्रेस भने हाम्रो बिपक्षमा उभिएको प्रतिगामी पार्टी हो भनेर सबै तामाङले बुझेकै होला भन्ने लाग्दछ ।

जे होस् अहिले देश जातीय संघियता की क्षेत्रिय आधारमा संघियता भन्ने बहसमा अल्झिएको छ ।हामी तामाङ भएको नाताले हामी जातीय आधारको संघीयताको वकालत गर्छौँ ।हामी परशुराम तामाङको दललाई सहयोग गर्न तयार हुनै पर्छ ,अनि जनताको ठुलो त्याग र बलिदान बाट जन्मेको एकीकृत माओवादीलाई पनि सहयोग गर्नै पर्छ भन्ने सबै तामाङले बुझ्नु पर्छ । ताम्सालिङको नारा पछाडी विभिन्न स्वार्थ हुन सक्लान् त्यो समयले बताउला अनि समय अनुसार हामीले पनि आफ्नो विबेग प्रयोग गरौंला तर अहिलेको अवस्थामा ताम्सालिङको नारा घन्काउने दललाई समर्थन गर्नै पर्छ । जय ताम्सालिङ...