Pages

Thursday, August 25, 2011

दौरासुरुवाल मात्र राष्ट्रिय पोशाक ‘होइन

राष्ट्रिय पोशाक दौरा सुरवाल नै बनाउनुपर्ने गृहमन्त्रालयको निर्णय र त्यसबिरुद्ध परेको रिट सर्वोच्चले खारेज गरिदिएपछि अहिले ‘पोशाक बहस’ उत्कर्षमा पुगेको छ । मुलुक संघीयतामा जान लागेकै बेला अन्य जाती र जनजातीका समेत आकांक्षा समेटेर राष्ट्रिय पोशाकबारे निर्णय लिनुपर्नेमा कसरी र कुन सरकारले यस्तो निर्णय गर्‍यो भनेर सवै चकित परेका छन् । अरु त अरु दलका नेताहरु नै यसबारे बेखवर छन् ।
तर यसैसाता प्रकाशित जनआस्था साप्ताहिकले तत्काली गृहमन्त्री भीम रावलले कसरी चलाखीपूर्वक ढाँटेर यस्तो निर्णय गराए भन्ने रोचक तथ्य प्रकाशित गरेको छ । माधव नेपाल प्रधानमन्त्री छँदैको क्याबिनेटमा गृहमन्त्रीको हैसियतले भीम रावलले एउटा बैठकमा ड्रेसकोडसम्बन्धी प्रस्ताव लगेका थिए । त्यसमा दौरा, सरुवाललाई राष्ट्रिय पोशाकका रुपमा अपनाउने कुरा थियो । अर्का मन्त्री विजय गच्छेदारले आपत्ति जनाए । यसपछि प्रम माधवले ‘ल-ल, ठीक छ, उसोभए अहिलेलाई निर्णय नगर्ने’ भनेपछि कुरा सामसुम भयो ।
तर, बाठा भीम रावलले क्याबिनेटमा ‘पछि गरौंला’ भनिएको त्यो विषयलाई माइन्युटमा घुसाएका रहेछन् । अघिल्लो साता औपचारिक समारोहहरुमा राष्ट्रिय पोशाक लगाउनुपर्ने र राष्ट्रिय पोशाकका रुपमा दौरा-सुरुवाललाई नै मान्यता दिने भन्ने सर्वोच्च अदालतले फैसला पनि गरिसकेको छ । न्यायाधीशहरु प्रेम शर्मा र डा.भरतबहादुर कार्कीको बेञ्चले गरेको उक्त फैसलामा मधेसी मूलका न्यायाधीश गिरिशचन्द्र लालले फरक मत राखेका थिए । सोमबारको एमाले बैठकमा पनि यही कुरा उठ्यो । केन्द्रीय सदस्य श्रीप्रसाद साह र बंशीधर मिश्रले कुरा उठाए, ‘मधेसमा एमालेलाई समाप्त पार्ने ? मधेसीलाई यसरी दौरा-सुरुवाल लगाउन बाध्य पार्ने ? यो विषयमा सर्वोच्चको निर्णय पनि बेठीक छ ।’
श्रीप्रसादले भने, ‘हुन त यहाँ पनि तपाईंहरु सबै पहाडे नेता हुनुहुन्छ ।’ अनि, बंशीले भने, ‘यस्तो निर्णय प्रतिगामी सोचबाट आएको हो ।’ यसपछि भीम रावल बसेको ठाउँबाट उठे र भन्न थाले, ‘मैले नै क्याबिनेटमा प्रस्ताव गरेको हो, बिल्कुल ठीक छ । लुगा जसले जे लगाए पनि कसले रोक्या छ र ?’ भीमको यस्तो कुरा सुनेपछि उपि|mँदै रहेका दुई मधेसी नेता अरु चर्किए भने रावलचाहिँ थचक्कै बसे ।

हामीले यस्तो परिस्थितिको निर्माण गरौँ कि जसले गर्दा मधेसमा बसेर दाल,भात र चट्नी खाईरहंदा गिट्ट,भ्याकुर खोज्न बन पसेका कर्णालीवासीको पिडा महसुस हुन सकोस् ।दौरा सुरुवाल ,धोति ,बख्खु,कछाड लगायत सबै जातजातिको पोशाक हाम्रो राष्ट्रिय पोशाक हो । राष्ट्रियता कुनै जाति बिशेषको पहिरन,भाषा या संस्कृतिमा खोजिन्नु हुन्न ।जब सम्म मुलुकमा बस्ने हरेक नेपालीको धड्कनमा राष्ट्रियता खोज्ने प्रयत्न हुन्न त्यतिखेर सम्म मुलुकमा शान्तिको गीत गाउनु बेक्कार छ ...