एमाओवादी सभासद सुरेश आले मगर १७ औं आदिवासी दिवसको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा निकै आक्रोशित देखिए । आदिवासी दिवस सकिएको तीन दिनपछि अर्थात साउन २८ गते आयोजना गरिएको कार्यक्रमका अतिथि राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद (केन्द्रिय समिति) सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति महासंघका इन्चार्ज कर्णबहादुर सुनारीले एमाओवादी, काँग्रेस र एमालेकातर्फबाट प्रतिनिधि गरेका जनजाति नेताहरुलाई वाहुनले डामेको भनेपछि आले मगर आक्रोशित बनेका हुन ।
नेता सुनारीले जनजातिका विषयमा ठूला कुरा गरेर हिँडे पनि एमाओवादी, काँग्रेस र एमालेका जनजाति सभासदहरुले संविधानसभामा जनजातिकै विरोधमा भोटिङ्ग गरेको स्मरण गरेका थिए । ११ पुस २०६६ मा संवैधानिक समितिको वैठकमा मतदान हुँदा एमाओवादी काँग्रेस र एमालेका सभासदहरुले संविधानमा जनजाति आन्दोलन लेख्नु हुँदैन भनेर भोट हालेको कुरा सुनारीले बताउँदा तालीको गडगडाहत गुन्जिएको थियो । संवैधानिक समितिको वैठकमा तीन पार्टीका सभासदहरुले पूर्ण समानुपातिक प्रतिनिधित्वको समेत विपक्षमा भोट हालेका बेला राष्ट्रिय जनमुक्ति पार्टीका एसएस थापा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका रुक्मिणी चौधरी थारु र नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धरले मात्रै जनजातिको पक्षमा मतदान गरेका थिए ।
कार्यक्रममा सुनारीले दाहाल, कोइराला र खनालको निर्देशनमा वाहेक अन्त भोट हाल्न नसक्नेहरु अनुहारले जनजाति भएपनि वास्तविका जनजाति हुन नसक्ने धारणा राखेका थिए । उनले जनजाति महासंघको पूर्व अध्यक्ष भएर पनि जनजातिको विपक्षमा भोट हाल्ने सभासद पासाङ्ग शेर्पालाई इतिहासले माफ गर्न नसक्ने उल्लेख गरे ।
एमाओवादी सभासद आले मगरले आफु जनजाति महासंघको संस्थापक महासचिव भएकाले आफूले जति जनजातिको मुद्दा कसैले उठाउन नसकेको धारणा राखे । नेपालमा जातीय संघीयता एनेकपा माओवादीले सबै भन्दा पहिला उठाएको आले मगरको दाबी थियो । तर यथार्थता के हो भने नेपाल संघीयतालाई प्रमुख मुद्दा बनाएर राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल सदभावना पार्टी स्थापना हुँदा आले मगर माक्स्रवादको कखरा सिकीरहेका थिए ।
जनमुक्ति पार्टी संघीयताको नभई स्वशासनको पक्षधर भएको पनि आले मगरको भनाई थियो । जातीय मुक्तिका लागि अन्य पार्टीलाई छाडेर एमाओवादीमा आउन समेत उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै काँग्रेस नेता इन्द्रबहादुर गुरुङ्गले आफू काँग्रेसमा लाग्दा 'वाहुनको पार्टीमा नलाग्नुस दाई' भन्ने सुरेश आले मगर अहिले आफै दाहालको पार्टीमा लागेको बताएका थिए । गुरुङ्गले जातीय अधिकार प्राप्तिका लागि सम्पूर्ण आदिवासी जनजातिहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुजेन्द्र गोलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी\जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले भाषिक सांस्कृतिक उत्थान नभएसम्म जनजातिको मुक्ति नहुने बताए ।
जनजाति महासंघका अध्यक्ष तथा नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखी थारुले एमाओवादी काँग्रेस र एमालेबाट जनजातिको मुक्ति असम्भव रहेको बताए । प्रमुख दलका प्रमुख नेताहरु आदिवासी जनजातिलाई अधिकार नदिने विषयमा सहमति भइसकेको लेखीको दाबी थियो ।